होमपेज » हेडलाइन » नीतिगत स्थिरता र लोकतान्त्रिक मूल्यमान्यताप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन शाह

नीतिगत स्थिरता र लोकतान्त्रिक मूल्यमान्यताप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री बालेन शाह

मंगलवार, १२ जेष्ठ २०८३, १७:४२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालमा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, राजनीतिक स्थिरता र नीतिगत निरन्तरता कायम राख्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

मंगलबार नेपाल भ्रमणमा रहेका युरोपेली युनियन (ईयू) सम्बद्ध राष्ट्रका उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले उक्त धारणा राख्नुभएको हो।

‘नयाँ हुनु भनेको विगतबाट अलग हुनु होइन’ भेटका क्रममा प्रधानमन्त्री शाहले नयाँ सरकार गठन हुँदैमा पुराना नीतिहरू चटक्कै नछाडिने प्रस्ट पार्नुभयो। “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति तथा निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, प्रधानमन्त्री शाहले आम नागरिकको दैनिक जीवनस्तर देखिने गरी उकास्न सरकारले वर्तमान परिस्थितिको आवश्यकता र आफूमाथिको गहन जिम्मेवारीलाई गम्भीरतापूर्वक बोध गरेको बताउनुभएको थियो।

सुशासन, लगानी र आर्थिक समृद्धि हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नयाँ सरकार आए पनि नीतिगत निरन्तरता कायम रहने विश्वास दिलाउनुभयो। जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न र विश्व बजारबाट लाभ लिन सरकार तत्पर रहेको उहाँको भनाइ थियो। यसका लागि बृहत् विदेशी लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रियालाई थप सहज बनाउने, नवप्रवर्तन (इनोभेसन) लाई प्रोत्साहन गर्ने र दिगो विकास हासिल गर्ने दिशामा सरकार अघि बढेको उहाँले प्रस्ट पार्नुभयो।

सन्तुलित कूटनीति र विश्व शान्तिमा जोड परराष्ट्र नीतिका सन्दर्भमा प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने बताउनुभयो। छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको नेपालको सम्बन्ध ‘आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धि’का सिद्धान्तबाट निर्देशित रहेको उहाँले स्पष्ट पार्नुभयो। नेपालको विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएका सबै साझेदारहरूप्रति उहाँले आभारसमेत प्रकट गर्नुभयो।

साथै, व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायतका प्रमुख क्षेत्रमा नेपालले सहकार्यलाई थप सुदृढ बनाउन चाहेको उहाँले बताउनुभयो। विश्वका विभिन्न भागमा भइरहेका द्वन्द्वमा सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी सास्ती खेप्नुपरेको औँल्याउँदै प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले सदैव प्राथमिकता पाउनुपर्छ।”

ईयू प्रतिनिधिमण्डलद्वारा सहकार्य र लगानीको प्रतिबद्धता सो अवसरमा काठमाडौं र नयाँ दिल्लीस्थित ईयूका आवासीय तथा गैरआवासीय राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका थिए।

सुशासन, आर्थिक विकास र समृद्धिको स्पष्ट जनमतसहित सरकारको नेतृत्व सम्हाल्नुभएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै कूटनीतिज्ञहरूले नेपालको आर्थिक वृद्धि र विकासका विविध क्षेत्रमा थप सहकार्य तथा लगानी गर्न युरोपेली युनियन सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।