होमपेज » हेडलाइन » अत्यधिक गर्मीसँगै सर्लाहीमा सर्पको बिगबिगी, असारसम्म तीन सयभन्दा बढीको उपचार

अत्यधिक गर्मीसँगै सर्लाहीमा सर्पको बिगबिगी, असारसम्म तीन सयभन्दा बढीको उपचार

आईतवार, २१ असार २०८३, १७:१९

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेसँगै सर्लाहीमा सर्पको बिगबिगी ह्वात्तै बढेको छ । तापक्रम वृद्धिका कारण सर्पहरू बाहिर निस्कन थालेपछि सर्पदंशका बिरामीको सङ्ख्या अघिल्ला वर्षहरूको तुलनामा निकै बढेको हो । लालबन्दी नगरपालिका–१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रका अनुसार असारको तेस्रो सातासम्ममै ३ सय ५ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन् ।

 

उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवले दिएको जानकारीअनुसार पछिल्लो समय दैनिक तीनदेखि सात जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । केन्द्रका अध्यक्ष उद्धव पौडेलका अनुसार अन्य समयमा पनि फाट्टफुट्ट बिरामी आउने भए पनि विशेषगरी फागुनदेखि असोजसम्मको समयमा सर्पदंशका बिरामी अत्यधिक हुने गर्छन् । यस वर्ष फागुनमा १७, चैतमा ४७, वैशाखमा ६५, जेठमा ८५ र असारको तेस्रो सातासम्म ९१ जनालाई सर्पले डसेको तथ्याङ्क केन्द्रसँग छ ।

 

स्वास्थ्य सहायक यादवका अनुसार उपचारका लागि आउनेमध्ये ५ देखि ७ प्रतिशत बिरामीको शरीरमा मात्र विष फैलिएको पाइने गरेको छ । त्यस्तै, १५ देखि २० प्रतिशत सुक्खा डसाइ (ड्राइ बाइट) हुने गरेको छ भने ७३ देखि ८० प्रतिशत बिरामी विष नभएका सर्पले डसेका वा डसाइको शङ्का मात्र लागेर त्रसित हुँदै आउने गरेका छन् । विषालु ‘कमन करेत’ले डसेका तीन जना गम्भीर बिरामीलाई भने थप उपचारका लागि जनकपुर रिफर गरिएको र बाँकी सबैको केन्द्रमै सफल उपचार भएको अस्पतालले जनाएको छ ।

 

विज्ञहरूका अनुसार मुसाको दुलो, झाडी र ओसिलो ठाउँमा बस्ने सर्प गर्मी खप्न नसकेर बाहिर निस्कने गर्छन् । विशेषगरी रातको समयमा आहाराको खोजीमा निस्कने विषालु सर्प मानिससँग जम्काभेट हुँदा सुरक्षा चुनौती महसुस गरी आफ्नो बचाउका लागि डस्ने गर्छ । सर्पले मानिसलाई नै खोज्दै आएर नडस्ने तर मानवीय गतिविधिका कारण त्रसित भएर आक्रमण गर्ने गरेको अध्यक्ष पौडेल बताउँछन् ।

 

एकैपटक दुई जनासम्मलाई आपत्कालीन उपचार सेवा दिन सक्ने क्षमता रहेको यस केन्द्रमा हाल दुई जना एमबिबीएस डाक्टर, दुई जना सीएमए, तीन जना एचए र नेपाली सेनाका दुई जना स्वास्थ्य प्राविधिक कार्यरत छन् । चिकित्सकहरूले सर्पले डसेमा आत्तिनुको सट्टा सकेसम्म सर्पको पहिचान गर्न र ढिला नगरी तुरुन्तै नजिकैको उपचार केन्द्रमा पुग्न सल्लाह दिएका छन् । अझै पनि गाउँघरमा सर्पले डस्दा झारफुकको भर पर्ने अन्धविश्वास कायम रहेकाले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जान सक्ने भन्दै त्यसो नगर्न स्वास्थ्यकर्मीले कडा सुझाव दिएका छन् ।