काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.८९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९ प्रतिशत बढेर ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा ५० प्रतिशत बढेर ८६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १८.८६ प्रतिशत बढेर ७६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।










