काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १८ अर्ब १३ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६.४० प्रतिशतले मात्रै बढी हो ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ र बीमालेख धितोमा १८ अर्ब ११ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बीमांकिय मूल्यांकन अघि इन्स्योरेन्स नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनी १४५.८० प्रतिशतले नोक्सानी व्याहोरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कम्पनीको कम्पनी यस अवधिमा भने ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ, जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड ५ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३ पैसा नोक्सानीमा रहेको छ भने मूल्य आम्दानी अनुपात पनि ४२९.१६ गुणा नकारात्मक रहेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसा रहेको छ ।










