भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक कला, धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै पिप्ले क्षेत्रमा ‘देवाली थान’ निर्माण गरेको छ । बढ्दो आधुनिकीकरणसँगै लोप हुन लागेका परम्परागत सांस्कृतिक अभ्यासलाई जोगाउने उद्देश्यले गाउँपालिकाको अगुवाइमा उक्त संरचना निर्माण गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार स्थानीय बासिन्दासँगको ५० प्रतिशत लागत साझेदारीमा देवाली थानको निर्माण सम्पन्न भएको हो । विकास निर्माणमा स्थानीयको अपनत्व बढाउन जनसहभागिता जुटाइएको उहाँले बताउनुभयो । अधिकृत भट्टराईले पालिकाभित्र रहेका ऐतिहासिक मठमन्दिरका साथै विशेषगरी किरात समुदायका धार्मिक एवं सांस्कृतिक क्षेत्रहरूको संरक्षण र मर्मतसम्भारको कामलाई गाउँपालिकाले योजनाबद्ध रूपमा अगाडि बढाइरहेको जानकारी दिनुभयो ।
व्यवस्थित देवालीस्थल निर्माण भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । स्थानीय कृष्णकुमार पौडेलले देवाली थान निर्माणपछि परम्परागत रूपमा विभिन्न समयमा मनाइने चाडपर्व, कुलदेवताको पूजाआजा तथा किरात समुदायको महान् पर्व उभौली र उधौलीलगायतका अनुष्ठान सञ्चालन गर्न निकै सहज भएको बताउनुभयो । विगतमा खुला र अव्यवस्थित स्थानमा पूजाआजा गर्नुपर्दा झरी र घामले समस्या हुने गरेकोमा अब व्यवस्थित संरचना बनेपछि धार्मिक कार्यमा ठूलो सहजता आएको उहाँको भनाइ छ ।
भौतिक पूर्वाधारको विकाससँगै सांस्कृतिक धरोहरको संरक्षणले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुग्ने भएकाले देवालीस्थल जस्ता मौलिक संरचना निर्माणलाई पालिकाको नीति तथा कार्यक्रममै प्राथमिकता दिइएको स्पष्ट पार्नुभयो । स्थानीय पहिचान र संस्कृति जोगाउने गाउँपालिकाको यस कदमलाई स्थानीयले निकै सकारात्मक रूपमा लिएका छन् ।










