काठमाडौं । अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।
नेपाल अण्डा उत्पादक संघका अनुसार फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७० र मिडियमको रु ३४० पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको हो । संघका भनाई अनुसार चार वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६५ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य रु ३६० पुगेकामा केही दिनपछि घटेको थियो ।
एच ९ र रानीखेत रोगका कारण झण्डै २५ प्रतिशत कुखुरा मरेको किसान बताउँछन् । दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकोमा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ ।
संघका अध्यक्षले सरकारले अण्डाको लागत मूल्य रु ११।५३ तय गरे पनि हाल लागत मूल्य बढेका कारण रु १२।३३ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन् । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अण्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको अध्यक्षको भनाइ छ ।










