काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७३.८७ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३ करोड ५१ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क लगायत अन्य आम्दानीको स्रोतहरु समेत बढेपछि नाफामा उल्लेख्य सुधार देखिएको हो ।
इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ६१.६४ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैतसम्ममा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीको पुर्नबीमा कमिशन पनि ४९.१७ प्रतिशतले बढेर १३ करोड ४९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आय २४.२२ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड ५५ लाख, बीमा कोषमा ९ करोड २९ लाख र महाविपत्ती कोषमा ८३ लाख रुपैयाँ संचित छ ।
यस अवधिमा इन्स्योरेन्सले १ लाख ५ हजार ९० वटा बीमालेख जारी गरी १ अर्ब २ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले कुल ३ हजार ३५० वटा दाबी बापत ५० करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९४४ वटा दाबी बापत ४३ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।










