बैतडी । जिल्ला अस्पताल बैतडीले अब जटिल हाडजोर्नी शल्यक्रियाको सेवा सुरु गरेको छ। दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको घुडामुनिको दुवै हड्डीमा सानो चिरा मार्फत गरिएको शल्यक्रिया सफल भएपछि यो सुविधा स्थानीय अस्पतालमा उपलब्ध भएको हो ।
शल्यक्रियामा सानो चिरा प्रयोग गरी हड्डीको सही स्थिति मिलाउने र भित्रबाट स्थिरता दिने विधि (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) अपनाइएको थियो। अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. अरविन्द जोशीले जानकारी दिनुभयो, “यो हाम्रो अस्पतालमा पहिलो पटक गरिएको शल्यक्रिया हो। यसले बिरामीलाई उपचारमा सहजता र छिटो फाइदा पुर्याउनेछ।”
अघिल्लो समय अस्पतालमा हड्डी मिलाउने कामका लागि मात्र रड प्रयोग हुने गर्दथ्यो। तर अब सानो चिराबाट नै जटिल शल्यक्रिया गर्न सकिने भएको छ। शल्यक्रिया डा. दीपेन्द्र भण्डारी र डा. जोशीको टोलीले सफलतापूर्वक सम्पन्न गरेको थियो। जिल्ला अस्पतालमा हाल चार जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत छन्। सूचना अधिकारी हरिश पन्तका अनुसार, “यो सेवा सुरु भएपछि बिरामीले अब कम खर्चमै जिल्ला अस्पतालमै जटिल हाडजोर्नी शल्यक्रियाको सुविधा पाउनेछन्।” यसले स्थानीय स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।










